नियम ३६
सल्लाहकार समूह, विशेषज्ञ समिति वा कार्यदल
(१) ऐनको दफा ६ को उपदफा (३)
वा दफा ८ को प्रयोजनको लागि कार्यालयले सल्लाहकार समूह, विशेषज्ञ समिति वा
कार्यदल गठन गर्दा देहायका क्षेत्रमा सल्लाहकार समूह भए कम्तीमा पन्ध्र वर्ष र विशेषज्ञ
समिति वा कार्यदल भए कम्तीमा पाँच वर्ष अनुभव हासिल गरेका विशेषज्ञ रहेको
सल्लाहकार समूह, विशेषज्ञ समिति वा कार्यदल गठन गर्नेछः–
(क) इजिनियरिङ्ग
(ख) पूर्वाधार संरचना निर्माण वा सञ्चालन,
(ग) चिकित्साशास्त्र,
(घ) सूचना प्रविधि वा सञ्चार,
(ङ) लेखा तथा लेखापरीक्षण,
(च) व्यवस्थापन, वाणिज्यशास्त्र, अर्थशास्त्र, बैकिङ्ग वा वीमा,
(छ) अन्तर्राष्ट्रिय कानून, कर्पोरेट वा वाणिज्य कानून,
(ज) वन तथा वन्यजन्तु संरक्षण,
(झ) कृषि,
(ञ) वातावरण संरक्षण,
(ट) व्यापार प्रशासन,
(ठ) वित्त विश्लेषक वा परियोजना विश्लेषक
(ड) बौद्धिक सम्पति,
(ढ) बोर्डले तोकेको अन्य क्षेत्र ।
तर अन्तर्राष्ट्रिय अन्तरसरकारी वित्तीय संस्था वा विदेशी वित्तीय संस्था वा
पूर्वाधार संरचनाको निर्माण वा सञ्चालनमा काम गरेको भए कम्तीमा पाँच वर्षको
अनुभव भए पनि सल्लाहकार समूहमा नाम समावेश गर्न सकिनेछ ।
(२) उपनियम (१) बमोजिम सल्लाहकार समूह, विशेषज्ञ समिति वा कार्यदल
गठन गर्नको लागि कार्यालयले सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको सूची खडा गरी त्यस्तो
सूची अद्यावधिक गर्नेछ ।
(३) उपनियम (२) बमोजिमको सूची तयार गर्न कार्यालयले समय समयमा
सार्वजनिक सूचना प्रकाशन गरी सम्बन्धित विशेषज्ञको वैयक्तिक विवरण माग गर्नेछ ।
(४) यस नियमावली बमोजिम राखिएको सूचीमा समावेश भएको व्यक्ति तीन
वर्षसम्मका लागि कायम रहनेछ र त्यसपछि निजको नाम कार्यालयबाट अद्यावधिक गर्नु
पर्नेछ ।
(५) सल्लाहकार समूह, विशेषज्ञ समिति वा कार्यदलका सदस्यको पारिश्रमिक
तथा अन्य सुविधा त्यस्तो समूह, समिति वा कार्यदल गठन गर्दाका वखत निर्धारण भए
बमोजिम हुनेछ ।